देश संघीय संरचनामा गए सँगै साविकको जिल्ला शिक्षा कार्यालयबाट नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४ चैत्र १२ गतेको निर्णयानुसार शिक्षा विकास तथा समन्वय इकाइ र हालै मात्र नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८३ श्रावण ११ गतेको निर्णयानुसार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा विभाग अन्तर्गत ७७ ओटै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइ रहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ बाजुराको कार्यालय भवन बडीमालिका नगरपालिका वडा नं. ८ जिउला स्थित मार्तडी बजारमा रहेको छ । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८३।०३।३२ को निर्णयानुसार स्वीकृत संगठन संरचना र दरबन्दी तेरिज अनुसार यस एकाइमा एकाइ प्रमुख शाखा अधिकृत रा.प. तृतीय श्रेणी १ जना, प्राविधिक सहायक रा.प. अनं. प्रथम ३ जना र श्रेणी विहिन कार्यालय सहयोगी २ जना गरी जम्मा ६ जना कर्मचारी रहने गरी दरबन्दी स्वीकृत भएको छ । जिल्लाको समग्र शैक्षिक गतिविधि तथा शिक्षा सम्बन्धी नीति निर्देशन, ऐन, नियम, कानून तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारका विभिन्न निकायहरुसँग आवश्यक समन्वय एवं सहजिकरण गर्ने भूमिकाको रुपमा एकाइ रहेको छ । विशेषगरी शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ति र बढुवाका लागि सिफारिस भई आएका शिक्षकलाई स्थायी नियुक्ति प्रदान गर्ने, शिक्षकको सरुवा गर्ने, शिक्षक का.स.मु. सम्बन्धी कार्य, शिक्षकको अवकाश सम्बन्धी कार्य र सेवा निवृत्त पश्चातको सुविधाका लागि सिफारिस गर्ने, माध्यमिक शिक्षा परीक्षा कक्षा १० र १२ को अन्तिम परीक्षा संचालन व्यवस्थापन कार्य, विद्यालय अनुगमन तथा सुपरीवेक्षण, विद्यालय समायोजन तथा दरबन्दी मिलानको लागि स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग तथा समन्वय एवं सहजिकरण गर्ने कार्य एकाइबाट हुने गरेको छ ।